Google

Wednesday, April 9, 2008

म तिमी बिना मरिहाल्छु नि !

नाइँ नाइँ मैले तपाइँलाई भनेको होइन । मेरो र तपाइँको मायाप्रीति त्यसो विघ्न मूर्खतापूर्ण छैन ।
बरु यो त हाम्रा नायक भुवन केसी र नायिकाद्वय सुस्मिता केसी र झरना थापालाई यसका बारेमा सोध्नुस् किनभने यो भन्ने चाहिँ उनीहरु नै हुन् ।
त "म तिमी बिना मरिहाल्छु" चलचित्रको अहिलेको सबैभन्दा रोचक पक्ष भनेको यस चलचित्रका गीत छन् । मेलोडी किङ भनेर चिनिएका शम्भुजीत बासकोटाले पछिल्लो समय सबैभन्दा मिठा गीत दिएको निर्माता भुवन केसीको दाबी छ ।
अब त्यो दाबी कत्तिको सत्य हो भन्ने तपाइँलाई लाग्छ भने केही व्यक्तिलाई फोन घुमाउनुहोस् । जस्तो कि सङ्गीतकार शम्भुजीत बासकोटा, नायक भुवन केसी, नायिकाद्वय झरना थापा र सुस्मिता केसी, गायक आनन्द कार्की, गायिका अञ्जु पन्त आदि आदि । अब यतिले मात्र तपाइँको चित्त बुझेन भने चलचित्र निर्देशक दयाराम दाहाललाई फोन लगाउनुहोस्, उनको मोबाइलले पनि आनन्द कार्की र अञ्जु पन्तको स्वर रहेको "म तिमी बिना मरिहाल्छु" भन्न थालिहाल्छ । अरु त अरु नवनायिका अर्पणा सिंह, सङ्गीतकार कमलकृष्णका मोबाइलले पनि सोही गीत घन्काउन थालिहाल्छन् ।
अझै पनि तपाइँलाई चित्त बुझेन र भन्नुहोला- यी त सबै फिल्ममा संलग्न व्यक्ति भइहाले नयाँ कुरा के भयो र ? आफू संलग्न फिल्मको गीत त जसले पनि रिङ ब्याक् टोन बनाइहाल्छ नि !
अब तपाइँ फोन लगाउनुहोस्, अर्का चलचित्र निर्देशक शोभित बस्नेतको मोबाइलमा । उनको मोबाइलले पनि यही गीत केहीबेर घन्काइसकेपछि मात्र मोबाइलधनीले मोबाइल उठाउने छन् ।
किन त यस्तो ? "गीत नै यति राम्रो छ कि केही जसले यो गीत सुन्यो उसले नै रिङ ब्याक् टोन राखुँ न भनेर अनुमति माग्ने गर्छन् । त्यसैले मैले कलाकार वा मेरा फिल्मका क्रू मेम्बरलाई मैले जबरजस्ती राखौँ भनेको होइन । उनीहरु आफै रुचि राखेर गीत मागेका हुन्", सगर्व बताउँछन्, नायक भुवन केसी ।
यति धेरै व्यक्तिको रिङ ब्याक् टोन भइसकेपछि आधाउधि त गीत हिट भइसक्यो, बाँकी आधा चाहिँ रेडियो र टीभीले बनाइहाल्छन् । वाह ! क्या आइडिया छ आइडिया किङ भुवन केसीको !! कसैले गीत हिट गराउने फर्मूला त उनबाट सिकोस् !!!

फर्मुला सिक्नुस् दीपकसँग: फिल्म चलाऊनुस्

एक साथ देशका १९ वटा सिनेमा हलबाट चलचित्र प्रदर्शन गर्ने रेकर्ड कायम राख्ने गोपीकृष्ण मुभिजको प्रस्तुति "पर्खी बसेँ"ले गएको शनिबार मात्रै राजधानीभित्र बाट १० लाखभन्दा बढी कलेक्शन गर्न सफल भएको निर्माण समूहको दाबी छ ।
संविधानसभाको निर्वाचन, नयाँ वर्ष, रामनवमीजस्ता राष्ट्रिय चाडका बेला नेपाली भाषी बहुल क्षेत्रमा रिलिज गरिएको यो चलचित्रले राजधानीभित्र त राम्रो व्यापार गर्न सफल भयो नै, राजधानीबाहिर पनि सन्तोषजनक व्यापार गरेको जनाइएको छ ।
अहिले यो चलचित्र भारतको राजधानी नयाँ दिल्ली र मुम्बई र मलेसियामा प्रदर्शन भइरहेको छ र त्यहाँबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको निर्माता उज्ज्वल पौडेलको भनाइ छ ।
सबैभन्दा बढी खुशी त यस चलचित्रका निर्देशक दीपक श्रेष्ठ छन् । यसअघि नै "पापी मान्छे- २" र "हिम्मत- २" पाइपलाइनमा रहेका बेला यो चलचित्रको सफलताले चाहिँ उनको करियरमा कस्तो प्रभाव पार्ने देखिएको छ त ? "धेरै जसो चलचित्र त "पर्खी बसेँ" रिलिज पहिले नै घोषणा भइसकेको हो । तर सिनेमा हिट भइसकेपछि काम गर्ने जोश निकै बढेर आउँदो रहेछ । किनभने अहिले नै पाइपलाइनमा पाँच वटा चलचित्रको काम भइरहेको छ । काम गर्ने उत्साह बढिरहेको छ", निर्देशक श्रेष्ठले बताए ।
त्यसो त दीपक श्रेष्ठ नेपाली चलचित्र उद्योगमा हिट चलचित्र दिने निर्देशकमा गनिइन्छन् र केही व्यक्तिहरुले त "पर्खी बसेँ"लाई तुलसी घिमिरेको "दर्पण छायाँ"सँग तुलना गरिदिएपछि उनको उत्साह अझ दुइ गुणा बढेको छ । नयाँ कलाकारहरु लिएर पनि दर्शकहरुले सिनेमालाई रुचाइदिएकोमा उनी निकै हौसिएका छन् ।
फिल्म बनाएर मात्र हुदैन,चलाऊन पनि जान्नुपर्छ । र, फिल्म चलाऊने रणनीति जान्न दीपक श्रेष्ठसँग सिक्नैपर्छ । होईन त ?

Sunday, March 30, 2008

कस्ले भन्छ राजेशका दिन गए ?

अब राजेश हमाललाई फुर्सद मात्र हुनुपर्छ । यदि उनले निर्माताहरूलाई हप्ताको तीन दिन मात्र उपलब्ध गराए भने उनले हात पार्ने छन् तीन लाख । तपाईंहरूलाई विश्वास लागेन ? विश्वास लागेन भने तपाईंले सोध्न सक्नुहुनेछ चलचित्र दानवीरका निर्माता चिरञ्जीवी बस्नेतलाई । कलाकारलाई पारिश्रमिक दिने मामिलामा निकै कञ्जुस मानिने चिरञ्जीवीले राजेश हमालले दानवीरमा तीन दिन डेट लिएबापत तीन लाख तिर्नैपर्यो । हुन त दानवीरमा रमित ढुङ्गाना र अर्जुन कार्की थिए । तर यी दुईको उपस्थितिले चलचित्रलाई खासै वजनदार नबनाउने भएपछि चिरञ्जीवी पुगे पहिले निखिल उप्रेतीकहाँ । उप्रेतीले समय नभएको जानकारी पाएपछि चिरञ्जीवीको अन्तिम विकल्प बन्न पुगे राजेश हमाल। राजेशले पनि समय छैन भनेपछि चिरञ्जीवीले भने– 'बरु तीन दिन मात्र दिनुस्। अरू दिन चाहिँदैन। अरू फिल्मबाट लिने गरेको पारिश्रमिक म दिन्छु। निर्माताको यो आग्रह नकार्न नसकेपछि राजेशले पोखरामा छायाङ्कन भइरहेको आफ्नो दुई चलचित्र विष र मौसमबाट तीन दिन निकालेर चिरञ्जीवीलाई दिइहाले र तीन लाख खुत्रुक्क खल्तीमा कोचे। यसरी राजेशले करिब एक महिनाको बीचमा पोखरामा नै तीनवटा सिनेमाबाट ३–३ लाख गरेर ९ लाख खल्तीमा हालेपछि अझै पनि दस वर्ष राजेशकै हालीमुहाली छ भन्नेहरूको सङ्ख्या बढ्न थालेको छ।

 

© Deependra | Deependra